loader

Breaking News

बाघडोग्रा विमानस्थलको नयाँ टर्मिनल 2027 सम्म निर्माण हुने : सांसद विष्टले गरे निरीक्षण

Image
 

द हिमाल वर्ल्ड
सिलगढी, 11 जनवरी 2025

बाघडोगरा विमानस्थलमा नयाँ टर्मिनलको काम शुरू भइसकेको छ जसलाई पुरा हुन 30 महिनाको समय लाग्ने बताइएको छ। शनिबार दार्जीलिङका लोकसभा सांसद राजु विष्टले बागडोग्रा विमानस्थलका अधिकारीहरू र निर्माण कार्यमा संलग्न एजेन्सीसँग भेटेर कामको प्रगतिबारे जानकारी लिए। बैठकपछि उनले काम कसरी भइरहेको छ भनेर निरीक्षण पनि गरे। सांसदले नयाँ टर्मिनल भवन र बहुस्तरीय कार पार्किङको काम सुरु भइसकेको र  अनुभवी इन्जिनियरहरूले काम गरिरहेको बताए। उनले बताएअनुसार अहिले 10 प्रतिशत काम पुरा भइसकेको छ र नयाँ टर्मिनल मार्च 2027 सम्म निर्माण भएर सर्वसाधारणका लागि खोलिनेछ। यसले सिलगढी र दार्जिलिङका जनतालाई फाइदा पुर्या उने पनि उनले बताए। 1528 करोड रुपियाँको लागतमा निर्माण भइरहेको नयाँ टर्मिनलको काम गत वर्षको अगस्त महिनामा सुरु भएको थियो।
उल्लेखनीय छ, बाघडोग्रा विमानस्थल पश्चिम बंगालकै दोस्रो व्यस्ततम एयरपोर्ट हो। उत्तर बंगालसहित सिक्किम, असम, बिहारसितै छिमेकी देश भोटाङ, नेपाल र बंगलादेशका यात्रीहरूलाईसमेत यो विमानस्थलले सेवा पुऱ्याउँदै आएको छ। अन्तरराष्ट्रिय विमानस्थलको मान्यता नपाए तापनि यो विमानस्थलले अन्तरराष्ट्रीय सेवाहरू पुऱ्याउँदै आएको छ। घरेलु उडानबाहेक पहिला बाघडोग्रा विमानस्थलबाट सोझै छिमेकी देश नेपालको काठमाडौंसम्म उडान सञ्चालित थियो भने अहिले बाघडोग्रादेखि थाइल्याण्डसम्म उडानहरू सञ्चालित छन्।  
गत वर्षको 20 अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्सिङको माध्यमबाट विमानस्थलको नयाँ टर्मिनलको आधारशिला राखेका हुन्। अब यो नयाँ टर्मिनलको निर्माणपछि बाघडोग्रा एयरपोर्टको कायापलट हुने विश्वास गरिएको छ। स्मरण रहोस् , बाघडोग्रा एयरपोर्ट उत्तर बंगालका लागि एकमात्र व्यावसायिक एयरपोर्ट हो, जसले  व्यापक जनसंख्यालाई सेवा प्रदान गरिरहेछ।


Leave a Comment